Monday, June 12, 2017

फेरि जनता उठाउँदै रामेश-रायन

कान्तिपुर संवाददाता              


काठमाडौ, जेष्ठ १५ - जनगायक रामेश-रायनले देशलाई असफल हुन नदिन जनतालाई पुनः एकपटक उठ्न आह्वान गरेका छन् । पछिल्लो समय देशको राजनैतिक अवस्थाप्रति असन्तुष्ट उनीहरूले मंगलबार भने एक सांगीतिक कार्यक्रममा गीत सुनाउने क्रममा यस्तो धारणा राखेका हुन् । 'हामीले आन्दोलनलाई ऊर्जा दिन गीत गाउँदै आयौं । हामी सफल पनि छौं तर सफल पनि छैनौं । अनि निराश पनि छैनौं ।

नेपाली जनताले देशलाई असफल राष्ट्र हुन दिँदैनन्,' गायक रामेशले चर्चित गीत 'गाउँ-गाउँबाट उठ, बस्ती बस्तीबाट उठ...' साथी रायनसँगै गाउनुअघि बोले, 'अहिले विश्वास गरेकै नेता/दलबाट धोखा भएको छ । तर अब हामी जनताका लागि गीत गाउँछौं । उनीहरूमा मात्रै हाम्रो विश्वास छ । अरूको देश बनाउन बिदेसिएका हातले आफ्नै देश बनाउन पनि सक्षम छन् ।' मंगलबार साँझ लाजिम्पाटमा आयोजित 'रामेश संगीत' का लागि आयोजक नेपाल स्वयंसेवी रक्तदाता समाजले जुटाएको निःशुल्क गीत सुन्ने कार्यक्रममा रामेशले गीतसँगै द्वयका धारणा पनि सुनाएका हुन् । रामेशले जो मानवताका निम्ति वा न्यायका निम्ति बाँच्छन्, भोलिका लागि सम्झनायोग्य हुने टिप्पणी गर्दै न्यायप्रेमी जनतालाई उठाउनका लागि भन्दै गायनको सुरुवात गरे, 'आऊ मिलाऊ हाम्रा हातहरू...।'

झन्डै ४० वर्षदेखि निरन्तर जनताका गीत गाउँदै/बजाउँदै आएका रामेश-रायनले उक्त अभियानमा आफूहरू अझै पनि नरोकिएको संकेत दिए । बरु उनले स्टेजबाट 'सेवाको राजनीति र असल मनको राजनीतिलाई सहयोग गर्नका लागि' भन्दै गीत गाउन पुनः साथी रायनलाई स्टेजमा बोलाएका थिए । गीत गाउने क्रममा रायन भावुक बनेका थिए । रामेशले रक्तदानले हजारौंको जीवन रक्षा गर्ने भएकाले यस्तो पवित्र कार्यमा लाग्न पनि प्रेरणा दिने गीतहरू पस्किए । उनले एक सय ३३ पटक रक्तदान गरिसकेका प्रेम सागरले रचना गरेका गीतमा संगीत भरेर गाएका थिए । कार्यक्रममा गायिका कमला श्रेष्ठले पनि 'रक्तदान जीवनदान...' बोलको गीत सुनाएकी थिइन् । १८ वर्षअघिको एक दुर्घटनामा परी दुवै हात र एक खुट्टा गुमाएर पनि गायनमा सक्रिय गायिका श्रेष्ठलाई देखेपछि रामेशले आफूलाई गीत गाउन अझ ऊर्जा मिलेको बताए । रामेशले कार्यक्रममा झ्याउरे गीत 'सिम्लेमाथि बन कति राम्रो छ नेपालीको मन...' गाउँदा दर्शकले तालीको तालमा साथ दिएका थिए ।

प्रकाशित मिति: २०७० जेष्ठ १५ ०९:२७
www.ekantipur.com

साभार:  

No comments: