Monday, June 3, 2013

इच्छुक स्मृति पुरस्कार आचार्य र विभासलाई



दाङ । कृष्ण सेन ‘इच्छुक’ स्मृति पत्रकारिता पुरस्कार–२०७० सेनका सहकर्मी पत्रकार गोविन्द आचार्यलाई प्रदान गरिएको छ । सेनको पुख्र्यौली थलो दाङमा क्रान्तिकारी पत्रकार सङ्घ दाङले स्थापना गरेको उक्त पुरस्कार आचार्यलाई प्रदान गरिएको हो ।
त्यस्तै, कृष्ण सेन ‘इच्छुक’ स्मृति साहित्यिक पुरस्कार–२०७० रोल्पाका युवा साहित्यकार नवीन विभासलाई प्रदान गरिएको छ । उक्त पुरस्कार एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासङ्घ दाङले स्थापना गरेको हो ।



सेनको ११ औं स्मृति दिवसको अवसरमा सोमबार घोराहीमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार एवम् साहित्यकार नारायणप्रसाद शर्माले पुरस्कृत प्रतिभाहरुलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो । पुरस्कारको राशी नगद १०÷१० हजार र सम्मान पत्र रहेको छ । 
चैलाही–८, दाङ घर भई हाल काठमाण्डौंमा क्रियाशील आचार्य क्रान्तिकारी पत्रकार सङ्घका केन्द्रीय संयोजकका साथै श्रमजीवी पत्रकारहरुको पारिश्रमिक निर्धारण समितिका अध्यक्षसमेत रहनुभएको छ । सेनसँग २०५० सालदेखि नै जनादेश साप्ताहिकका सँगै पत्रकारिता गर्नुभएका आचार्य जनादेश साप्ताहिक, जनदिशा दैनिक र निकास साप्ताहिकको प्रधान सम्पादक रहेर काम गरिसक्नुभएको छ । 
त्यस्तै, साहित्यिक पुरस्कारबाट पुरस्कृत साहित्यकार नवीन विभासका आधा बाटो हिडेपछि (कथासङ्ग्रह), उनका गजल (गजलसङ्ग्रह), मौसमका हरफहरु (कवितासङ्ग्रह) र रात पनि ऐठन परेको रातमा (निबन्ध सङ्ग्रह) प्रकाशित छन् । दुइदशकअघिदेखि साहित्य र पत्रकारितामा क्रियाशील विभास संकटकालको बेला झण्डै पाँच महिना भैरवनाथ गणमा बेपत्ता पारिनुभएको थियो । 
एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ दाङका अध्यक्ष प्रकाश पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नारायणप्रसाद शर्माले हरेकले सरलता, त्याग, बलिदान र समर्पण अनि विचारप्रतिको निष्ठा सेनको जीवनबाट सिक्नुपर्ने बताउनुभयो । उहाँले प्राप्त उपलब्धिको रक्षा र थप उपलब्धिका लागि संघर्ष गरेर नै सेनलगायतका सहिदहरुको सपना पूरा गर्न सकिने बताउनुभयो ।
विशिष्ट अतिथि क्रान्तिकारी पत्रकार संघका केन्द्रीय संयोजक गोविन्द आचार्यले सेन राष्ट्रकै साझा सहिद भएकाले साझारुपमा नै स्थापित गर्नुपर्ने उल्लेख गर्दै उहाँको आदर्शलाई सोहीअनुरुप अंगीकार गर्नुपर्ने बताउनुभयो । 
अर्का विशिष्ट अतिथि एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय सचिवालय सदस्य गणेश भण्डारीले राजनीतिक लडाइँ नसकिएको उल्लेख गर्दै सेनको आदर्श साक्षी राखेर राजनीतिक परिवर्तनका लागि चल्ने नयाँ ढंगको लडाइँमा सहभागी हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा एकीकृत नेकपा माओवादीका वैकल्पिक केन्द्रीय सदस्य एवं दाङका संयोजक निर्मल आचार्य, सम्मानित साहित्यकार नवीन विभास, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष प्रताप रेग्मी, महासंघका पूर्वअध्यक्ष सुशील गौतम, राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनाल, प्रलेसका केन्द्रीय सदस्य पद्मप्रसाद शर्मा, लेखक संघ दाङका उपाध्यक्ष डा. कृष्णराज डिसी र जनसाहित्यिक मञ्चका संयोजक शरद देवकोटाले बोल्नुभएको थियो ।
त्यस्तै महिला मानवअधिकार रक्षकहरुको सञ्जालकी केन्द्रीय सदस्य लक्ष्मी आचार्य, पत्रकार महासंघका सचिव सविन प्रियासन, अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका थारुवान राज्य संयोजक लेखराज रेग्मी, अनेमसंघ क्रान्तिकारी दाङकी अध्यक्ष पुनम शेर्पालीलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा शब्द समूहका अध्यक्ष विप्लव अधिकारीले सेनको व्यक्तित्वबारे जानकारी गराउनुभएको थियो भने क्रान्तिकारी पत्रकार संघ दाङका उपाध्यक्ष डिल्ली मल्लले सम्मानित व्यक्तिहरुको बारेमा जानकारी गराउनुभएको थियो । आस्था केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन क्रान्तिकारी पत्रकार संघ, दाङका अध्यक्ष नरेन्द्र केसीले गर्नुभएको थियो ।

No comments: