Tuesday, November 21, 2017

वरिष्ठ जनवादी गायक खुसिराम पाख्रिनको निधनमा जनसांस्कृतिक महासंघको प्रेस- वक्तव्य ।





जनसांस्कृतिक महासङ्घ, नेपाल 

केन्द्रीय समिति 

मितिः २०७४।०८।०६ 

नेपाली जनवादी एवं समाजवादी सांस्कृतिक यात्राका अथक योद्धा, हाम्रो सांस्कृतिक संगठन जनसांस्कृतिक महासंघ, नेपालका संरक्षक, नेकपा माओवादी केन्द्रका सल्लाहकार तथा वरिष्ठ जनवादी संगीतकर्मी कमरेड खुशीराम पाख्रिनको मङ्सिर ५ गते दुःखद निधन भएको घटनाले हामीलाई स्तब्ध बनाएको छ । चार दशक लामो सांगीतिक यात्रामा निरन्तर जनपक्षीय गीत–संगीत सिर्जना र प्रस्तुतिसहित नेपाली जनवादी–क्रान्तिकारी सांस्कृतिक धारामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका कमरेड पाख्रिनको अवसानले सम्पूर्ण क्रान्तिकारी सांस्कृतिक क्षेत्रमा गहिरो क्षति पुगेको छ । २०३० को दशकदेखि गीत–सङ्गीतको जनवादी धारामा औपचारिक यात्रा थाल्नुभएका पाख्रिनले २०४६ सालको परिवर्तन, महान् जनयुद्धावधिको क्रान्तिकारी आन्दोलन र २०६२/०६३ पछिको राजनीतिक परिवर्तनमा समेत प्रगतिवादी सांस्कृतिक क्षेत्रको अभिभावकत्व गर्नुभयो । जनयुद्धमा आफ्नो छोरा गुमाउनुपरेको पीडालाई समेत साङ्गीतिक शक्तिमा बदल्नुहुने उहाँ सहिद–पिता समेत हुनुहुन्थ्यो । ‘गैंती बेल्चा उचालेर’, ‘कालो वनको बीचैमा’ जस्ता जनताका मन–मनमा बस्न सफल गीतका सर्जक कमरेड पाख्रिनको अनुपस्थिति समाजवादी सांस्कृतिक आन्दोलनको नयाँ यात्रामा अझ धेरै खड्किने छ । यस दुःखद घडीमा जनसांस्कृतिक महासङ्घ, नेपाल कमरेड खुशीराम पाख्रिनप्रति उच्च सम्मानसहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै उहाँको परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ । 

दुई दिनअघि मात्रै मङ्सिर ३ गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का महाधिवेशन आयोजक समिति सदस्य, युवा नेता तथा माओवादी केन्द्रका अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा कमरेड साकार दाहाल ‘प्रकाश’को आकस्मिक, अकल्पनीय र अल्पायुमै भएको निधनप्रति जनसांस्कृतिक महासङ्घ, नेपाल गहिरो दुःख व्यक्त गर्दछ । शोकको यस घडीमा अध्यक्ष कमरेड प्रचण्ड लगायत उहाँको परिवारमा हार्दिक समवेदना र कमरेड प्रकाशप्रति महासङ्घ हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । 

सरल सहयात्री                                                                                                   सङ्गीत श्रोता
अध्यक्ष                                                                                                     कार्यवाहक महासचिव



No comments: