Sunday, July 13, 2014

पाँचौं पूर्ण बैठक (२०७१ असार २७) को प्रतिवेदन

एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको
पाँचौं पूर्ण बैठक (२०७१  असार २७)मा प्रस्तुत प्रतिवेदन

एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको यस पाँचौं राष्ट्रिय सम्मेलन आयोजक समितिको पाँचौं पूर्ण बैठकमा उपस्थित एकीकृत नेकपा (माओवादी) का  अध्यक्ष् कमरेड प्रचण्ड , एकीकृत नेकपा (माओवादी) पोलिटब्युरो सदस्य एवम् सांस्कृतिक फ्य्राक्सन इन्चार्ज कमरेड आहुति, महासङ्घका कार्यालय एवम् केन्द्रीय समितिका साथीहरु ।
लामो अन्तरालपछि बस्न लागेको आयोजक समितिको यस पाँचौं पूर्णबैठकमा म सबैलाई हार्दिक स्वागत गर्दछु ।
सर्वप्रथम न्यायपूर्ण समानताको संसार निर्माण गर्न सांस्कृतिक मोर्चाबाट जीवन वलिदान गर्ने कृष्ण सेन, ‘इच्छुक’, घनश्याम ढकाल, मस्त विष्ट, च्याङ्बा लामा, चुनु गुरुङ, शारदा श्रेष्ठ, रोहित कोइराला, हर्षबहादुर मल्ल, पुष्पराज चौधरी, एकबहादुर वि.क., शिव श्रेष्ठ, डिवी थापालगायत अनेकोट, भावाङ, डुंगाला, जुफाल, विनायक आदि घटनाहरुमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण सांस्कृतिक सहिदहरुप्रति श्रद्धान्जली र सम्मान अर्पण गर्न चाहन्छु  ।
हामी यतिबेला नेपाली जनताले लामो समयदेखि चलाइरहेको  जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिलाई अघि बढाउने उद्देश्यका साथ प्रगतिवादी सांस्कृतिक आन्दोलन अघि बढाइरहेका छौं । यतिबेला हाम्रो देशमा एकातिर लुटाहाहरुको संस्कृति विद्यमान छ भने अर्कोतिर लुटका विरुद्ध सङ्घर्ष गरिरहेको नेपाली जनताको गौरवमय संस्कृति पनि छ । यो दुई संस्कृतिका बीचमा भीषण द्वन्द्व चलिरहेको छ हामी लुटाहा संस्कृतिका विरुद्धमा निरन्तर सङ्घर्ष सञ्चालन गरिरहेका छौं । हाम्रो सङ्गठन एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ त्यही द्वन्द्वमा जनताको तर्फबाट सहभागी गौरवमय संस्कृतिलाई नेतृत्व प्रदान गर्ने अग्रणी संस्था हो ।
साथीहरु,
२०६६ साल चैत्र २ गतेदेखि ५ गतेसम्म सम्पन्न भएको हाम्रो सङ्गठन एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्को चौथो राष्ट्रिय सम्मेलनदेखि यहाँसम्म आइपुग्दा नेपालको राजनीतिक परिदृश्यमा र हाम्रो साङ्गठनिक जीवनमा समेत धेरै घटनाहरु घटिसकेका छन् । जनतालाई अधिकार सम्पन्न बनाउने र नबनाउने द्वन्द्वमा पहिलो संविधानसभाको अवशानपश्चात् दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न भएको पनि करिब ६ महिना बितिसकेको छ । जनतालाई शक्तिसम्पन्न बनाउन नचाहने यथास्थितिवादी शक्तिका कारण संविधान नबनाइकन पहिलो संविधानसभा विघटन भयो । एक वर्षको म्याद तोकेर फेरि दोस्रो संविधानसभाको निर्वाचन भयो । यो संविधानसभाले संविधान त बनाउन सक्ला तर जनताका शक्तिहरुको कमजोर उपस्थिति भएको यो संविधानसभाले जनताले खोजेको संविधान बनाउन सक्ने छैन । यथास्थितिवादीहरुको पकडमा रहेको यो संविधानसभाले पहिचानसहितको संघीयता, राजनीतिक सत्तामा मजदूर किसानको सहभागिता, सामन्ती भू–स्वामित्वको अन्त्य, शिक्षा आवास, स्वास्थ्य रोजगारी र खाद्यसुरक्षालाई मौलिक अधिकारका रुपमा स्थापित गर्ने, आर्थिक–सामाजिक रुपमा पछाडि परेका वर्गसमुदायलाई सामाजिक सुरक्षाको व्यवस्था गर्नेजस्ता कार्य गरेर जनपक्षीय अन्तरवस्तुसहितको संविधान निर्माण गर्न सक्ने छैन । वर्तमान राजनीतिक शक्ति सन्तुलनको विशिष्ट परिस्थितिमा जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका राजनीतिक, सामाजिक आन्दोलनका भावनाहरुलाई नसमेट्ने हो भने नेपाली जनताले चाहेको अग्रगामी संविधान बन्न सक्दैन । हिजोकै यथास्थितिवादी शक्तिले जनताको यो चाहना पूरा गर्ला भनेर विश्वास गर्नसक्ने स्थिति छैन । त्यसको लागि सडक र सदन सबैतिरबाट भयङ्कर दबाबको सृष्टि गर्न जरुरी छ । हामी सबै सांस्कृतिकर्मीहरुले आ–आफना सबै औजारहरुलाई त्यसतर्फ क्रियाशील गर्नु गराउनु वर्तमान समयको माग हो ।
हामी नेपाली समाजको परिवर्तनको एक विशिष्ट अवस्थाबाट गुज्रिरहेका छौं । महान् जनयुद्ध र जनआन्दोलनको वलमा सामन्तवादको गढ शाही राजतन्त्र ढलेको छ । पछिल्लो यो एक दशक नेपालको सांस्कृतिक परिवर्तनका लागि एक महत्वपूर्ण र ऐतिहासिक उपलब्धि हो । देशमा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता जस्ता नेपालको रुपान्तरणका लागि दीर्घकालीन महत्व राख्ने प्रावधानहरुको घोषणा भइसकेको छ । अझैसम्म पनि संघीयता कार्यान्वयनमा आउन सकिरहेको छैन । यी विषयहरु नेपालको सांस्कृतिक आन्दोनलका लागि सामान्य घटना हुँदै होइनन् । अब पक्कै सामन्तवादको सांस्कृतिक सत्ता क्रमशः क्षयीकरण हुँदै जाने छ र हाम्रो उद्देश्य र सफलताको गन्तव्य पनि निकट बन्दै जाने छ । तर अझै पनि हाम्रो अघिल्तिर चुनौतीका ठूलाठूला पहाडहरु विद्यमान छन् । जनआन्दोलन र जनयुद्धबाट प्राप्त उपलब्धिहरु अझै पनि संस्थागत हुन सकेका छैनन् । प्रतिक्रियावादी र यथास्थितिवादी शक्तिहरु नेपाली जनताले लामो सङ्घर्षद्वारा प्राप्त गरेका यी अधिकारहरुलाई कसरी खोस्न सकिन्छ भनेर बाटो ढुकिरहेका छन् । साम्राज्यवादी र विस्तारवादी शक्तिहरु हाम्रो देशको स्वाधीनतामाथि गिद्धेदृष्टि लगाइरहेका छन् । राजनैतिक अधिकारहरु प्राप्त भए पनि जनताका जनजीविका सम्बन्धी समस्याहरु भ्mन्झन् सङ्कटपूर्ण बन्दै गइरहेका छन् । वर्तमानका यिनै समस्याहरुलाई टेकेर हाम्रा भूमिकाहरु निर्वाह गर्नुपर्ने अहिलेको हाम्रो प्रमुख दायित्व हो ।
सामन्तवादको प्रतिनिधि संस्था राजतन्त्रको अन्त्य भएर गणतन्त्रको स्थापना भए पनि सामन्तवादका आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक सम्बन्धहरुको अन्त्य भइसकेको छैन । सामन्तवादी संस्कृति संस्कृतिको मूलधारकै रुपमा जीवित छ । सांस्कृतिक साम्राज्यवादको आक्रमण झन्झन् तीव्र हुँदै गइरहेको छ । सांस्कृतिक साम्राज्यवादको अभिन्न अङ्ग उत्तरआधुनिकतावादको चिच्याहट सांस्कृतिक साम्राज्यवादको उद्देश्य अनुरुप कम्युनिस्ट विचार, दर्शन र प्रगतिवादी संस्कृतिका विरुद्ध केन्द्रित छ । साम्प्रदायिक विद्वेष र विखण्डनका सङ्केतहरु देखिँदैछन् । हामीले हाम्रो सङ्घर्षलाई प्राथमिकताका साथ त्यसतर्फ केन्द्रित गर्न जरुरी छ ।
 
 सङ्गठनका सम्भावना र चुनौतीहरु एक संक्षिप्त चर्चा

सुप्रशिद्ध साहित्यकार पारिजातको नेतृत्वमा २०३८ सालमा स्थापित यो सङ्गठनले अहिलेसम्म आइपुग्दा ३२ वर्षको लामो यात्रा पार गरेको छ । क्रान्तिकारी सांस्कृतिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका इन्द्रेणी सांस्कृतिक समाज, प्रगतिशील सांस्कृतिक सङ्गठन, जनकला सिर्जना समाज...............................................जस्ता सङ्घ–सङ्गठनहरुसँग एकता गर्दै अहिलेसम्म आइपुग्दा यो सङ्गठन नेपाली सास्कृतिक आन्दोलनमा आयतनका हिसाबले एउटा ठूलो संस्थाको रुपमा स्थापित भएको छ । यति लामो जीवनमा यो सङ्गठनले अनेकौं चुनौतीहरुको सामना गरेको छ । यिनै चुनौतीहरुका बीचबाटै यसले आफ्ना महत्वपूर्ण दायित्वहरुको पनि निर्वाह गरेको छ । आज पनि यो सङ्गठनका अघिल्तिर प्रशस्त सम्भावना र अनेकौं चुनौतीहरु विद्यमान छन् । चुनौतीको सामना गरेर मात्रै हामी हाम्रा कामहरुलाई प्रभावकारी बनाउन सक्छौं ।
यतिबेला हाम्रो सङ्गठनभित्र प्रतिभाहरुको ठूलो संख्या छ । समाजका विभिन्न क्षेत्रमा स्थापित र सम्मानित प्रतिभाहरु कुनै न कुनै जिम्मेवारीमा हाम्रो सङ्गठनमा क्रियाशील छन् । समर्थक प्रतिभाहरुको विशाल सङ्ख्या हामीसँग छ । साहित्यका विभिन्न विधाहरुमा स्थापित लेखकहरु अखिल नेपाल लेखक सङ्घमा आबद्ध छन् । पञ्चायती कालरात्रीमा जनवादी गीत सङ्गीतले नेपालका गाउँ शहरमा चेतना फैलाउने खुशीराम पाख्रिनदेखि लिएर नयाँ पुस्ताको ठूलो सङ्ख्या अखिल नेपाल जनकलाकार सङ्घमा क्रियाशील छ । नेपालको चलचित्र क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्वहरुको ठूलो संख्या अखिल नेपाल चलचित्रकर्मी सङ्घमा आबद्ध छ । अखिल नेपाल ललितकला सङ्घसँग सम्बद्ध प्रतिभाहरु नेपालको ललितकला क्षेत्रमै स्थापित हुनुहुन्छ । २०७० साल पुस २ गते गठित हाम्रो अर्को आङ्गिक सङ्गठन अखिल नेपाल नाट्यकर्मी सङ्घले छोटो समयमै आफ्ना कार्यक्रमहरु प्रस्तुत गरेर आफूलाई स्थापित गराउँदै लगेको छ । देशका प्रायः सबै जिल्लामा कुनै न कुनै रुपमा एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घसँग आबद्ध सांस्कृतिककर्मीहरुको उपस्थिति छ ।
यति हुँदाहुँदै पनि अग्रगामी सांस्कृतिक चेतनाका माग गरिरहेको वर्तमान समयलाई हामीले त्यो चेतनाको पूर्ति गर्न सकिरहेका छैनौं । हाम्रा आन्तरिक र वाह्य दुवै चुनौतीहरु गम्भीर प्रकृतिका छन् । महासङ्घको प्रमुख आन्तरिक चुनौती भनेको यसको साङ्गठनिक र आर्थिक व्यवस्थापन नै
हो । आर्थिक समस्या गएर सांगठनिक सक्रियतासँग जोडिन्छ । आर्थिक अभावका कारण हामीले प्रकाशन लगायतका विचारधारात्मक क्षेत्रका कामलाई व्यवस्थित गर्न सकेका छैनौं । हामीले आर्थिक चुनौतीलाई कसरी हल गर्छौंं, त्यसैसँग हाम्रो गतिशीलता पनि जोडिएको छ । त्यतिमात्र होइन, यही समस्याका कारणले महासङ्घसँग सम्बन्धित संस्कृतिकर्मीहरुले यस सङ्गठनलाई दिने समयसँग पनि जोडिएको छ । तसर्थ, पहिलो र केन्द्रीय चुनौती भनेकै हाम्रो आर्थिक समस्या नै हो ।
हाम्रा अघिल्तिर रहेको अर्को ठूलो चुनौती भनेको विचारधारात्मक रुपमा साथीहरुलाई प्रशिक्षित गर्न नसक्नु हो । हाम्रो आन्दोलन जति विस्तारित भइरहेको छ समस्याहरु पनि बढ्दै गइरहेका छन् । हाम्रा सांस्कृतिककर्मी साथीहरुमा विश्वदृष्टिकोणको समस्या प्रशस्तै देखिएको छ । प्रतिबद्धता र आदर्शअनुरुपको सार्थक रचनाकर्म हुन नसक्नुमा पनि यही समस्या जिम्मेवार छ ।
समाजको सांस्कृतिक रुपान्तरणको उद्देश्य बोकेको हाम्रो सङ्गठन र सङ्गठनसँग सम्बन्धित संस्कृतिकर्मीहरु अझै सांस्कृतिक रुपमा रुपान्तरित हुन आवश्यक छ । यस दिशामा समीक्षा गर्न बस्ने हो भने हाम्रा अघिल्तिर एउटा अत्यासलाग्दो दृश्य देखापर्दछ । सांस्कृतिक आन्दोलनभित्रैका साथीहरुमा गम्भीर सांस्कृतिक समस्याहरु छन् । हाम्रै आन्दोलनभित्र सङ्कीर्णता, आग्रह, पूर्वाग्रह र विद्वेषजस्ता प्रवृत्तिहरु पनि मौजुद छन् । यसतर्फ हाम्रो ध्यान पुग्नु जरुरी छ । यी चुनौतीहरुलाई सामना गरेर मात्रै हामीले हाम्रा कार्यभारहरुलाई स्पष्ट गर्न सक्दछौं ।
 
चौथो राष्ट्रिय सम्मेलनदेखि वर्तमानसम्म एक संक्षिप्त मूल्याङ्कन

२०६६ साल चैत्र २ देखि ५ गतेसम्म सम्पन्न एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्को एकताको चौथो राष्ट्रिय सम्मेलनपछि यो संगठनको साङ्गठानिक जीवनमा थुप्रै नकारात्मक घटनाहरु घटित भएका छन् । २०६७ साल पुस २८ र २९ गते राजधानीको भृकुटीमण्डपमा सम्पन्न भएको महासङ्घको तेस्रो पूर्ण बैठकपछि तत्कालीन अध्यक्ष र महासचिवको प्रत्यक्ष संलग्नतामा फुटवादी क्रियाकलापको आरम्भ भइसकेको थियो । नेतृत्व तहमै रहेको एउटा हिस्सा संगठनले गरेका निर्णयहरुलाई वास्ता नगरी पार्टी नेतृत्वका विरुद्धमा सांस्कृतिक कार्यक्रमहरु मार्फत् प्रचारात्मक अभियानमा लाग्न थालेको थियो । पार्टी नीति र नेतृत्वका विरुद्धमा अध्यक्ष–महासचिव गुटले अराजकता र अनुशासनहीनताको पराकाष्ठा प्रदर्शन गर्न थाल्यो । पूर्णबैठकले निर्णय गरेका कार्ययोजनाहरु लागू गर्नुको साटो आफ्नो गुट निर्माण र मजबुत गर्नतर्फ मात्र उनीहरु लागे । त्यतिमात्र नभएर क्रमशः उनीहरु वैकल्पिक संरचनाहरु निर्माण गर्न थाले । आफ्नो गुटको मात्र बैठक राख्ने, संगठनका बैठक राख्न जहिले पनि आनाकानी गर्ने र बैठक राख्दै नराख्ने गर्न थाले ।
पार्टी र सङ्गठनले अवलम्बन गरेको कार्ययोजनाको विरुद्धमा फुटपरस्तहरुले योजनाबद्ध फुटवादी कार्यक्रम सञ्चालन गरिरहँदा पनि हामीले संयमता अपनाइरह्यौं । हाम्रो संयमतालाई कमजोरी ठानेर उनीहरुले धेरै ठाउँमा दुस्प्रचार गर्न थाले । वैकल्पिक संगठनहरु निर्माण गरेर कार्यक्रम गर्न थाले । ११५ जनाको केन्द्रीय समितिमा ७० जनाको बहुमत फुटपरस्तहरुको विरुद्धमा हुँदाहुँदै आफ्नो बहुमत छ भनेर अनर्गल प्रचार गर्न भ्याए । अन्ततः उनीहरुले एकताको चौथो राष्ट्रिय सम्मेलनको वैद्यतालाई कुल्चिँदै सामान्य गुटको बैठक बसेर अखिल नेपाल जनसांस्कृतिक महासङ्घको नाममा फुटपरस्त र संकीर्णतावादी सोचलाई सङ्गठित रुपले अघि बढाए । उनीहरुको यो गलत कृयाकलापका विरुद्ध वाध्य भएर २०६९ साल असार १२ गते चौथो राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारी र कार्यसमितिको बहुमतको आकस्मिक बैठक बसेर मातृका पोखरेल लाई  कार्यबाहक अध्यक्षको जिम्मेवारी सुम्पियो । यसैगरी २०६९ साल असार १२ गते साथीहरुलाई फुटपरस्तहरुको भ्रममा नपर्न हामीले एउटा अपिल जारी ग¥यौं र हाम्रो सङ्गठनको यथार्थ अवस्थाबारे जानकारी गरायौं । भ्रमवश फुटपरस्तहरुको गुटमा पुग्नुभएका केही साथीहरु पनि क्रमशः क्रान्तिकारी धारातिर फर्कनुभयो र यो क्रम अझै पनि जारी छ ।
महासङ्घ भित्र बढिरहेको सङ्गठनात्मक अराजकता एवम् फुटपरस्त गतिविधिलाई ध्यान दिँदै २०६९ साल असार १२ गते महासङ्घको केन्द्रीय समितिको आकस्मिक बैठक एनेकपा (माओवादी) का उपाध्यक्ष क. नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, स्थायी समिति सदस्य क. कृष्णबहादुर महरा, पोलिटब्युरो सदस्य क. प्रभाकर, फ्य्राक्सन इन्चार्ज क. निनु चापागाईंको उपस्थितिमा बसी एनेकपा (माओवादी) को २०६९ असार ६ गतेको परिपत्र र निर्देशनअनुसार महासङ्घमा वरिष्ठ उपाध्यक्षको हैसियतले मातृका पोखरेललाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय भएको थियो । त्यही बैठकको निर्णयअनुसार अखिल नेपाल लेखक सङ्घको २०६९ साल असार १६ गते, अखिल नेपाल चलचित्रकर्मी सङ्को असार १८ गते र अखिल नेपाल जनकलाकार सङ्घको असार १९ गते, अखिल नेपाल ललितकला सङ्घको भाद्र २२  गते केन्द्रीय समितिको बैठक आयोजना गरी राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरेको थियो ।
२०६९ साउन १० र ११ गते एकीकृत नेकपा (माओवादी) का अध्यक्ष क. प्रचण्ड, एनेकपा (माओवादी) का वरिष्ठ केन्द्रीय सदस्य लीलामणि पोखरेल र फ्य्राक्सन इन्चार्ज कमरेड निनु चापागाईंको उपस्थितिमा बसेको चौथो पूर्णबैठकले पाँचौं राष्ट्रिय सम्मेलन आयोजक समिति निर्माण गरी आयोजक समितिमा अन्य ८१ जना थप गरी मातृका पोखरेललाई  संयोजक चयन ग¥यो । त्यसै गरी उक्त बैठकले  संयोजक मातृका पोखरेल  लगायत वरिष्ठ सदस्यद्वय वलराम तिमिल्सिना र गणेश भण्डारी रहेको एक कार्यालय गठन गर्ने निर्णय ग¥यो । यसै बीचमा एकता प्रक्रियाबाट संगठनमा आबद्ध वरिष्ठ संस्कृतिकर्मीहरु खुसीराम पाख्रिन र रमेश रञ्जन झालाई एकीकृत नेकपा (माओवादी) केन्द्रीय कार्यालयको निर्देशनअनुसार केन्द्रीय समितिमा मनोनयन गर्दै कार्यालय सदस्यको जिम्मेवारी दिइएको छ ।
केन्द्रीय समितिको त्यही पूर्णबैठकले २०६९ साल मंसिर १५ देखि १८ गतेसम्म पोखरामा गर्ने निर्णय गरिएको पाँचौं राष्ट्रिय सम्मेलन पछि पार्टीको सल्लाह अनुसार स्थगित गरियो । दुई वर्ष बितिसक्दा पनि विविध कारणले हामीले अहिलेसम्म पाँचौं राष्ट्रिय सम्मेलन आयोजना गर्न सकेका छैनौं ।

साथीहरु,
पुनर्गठन पछिका यी दुई वर्षको अवधिमा हाम्रो सक्रियता अत्यन्तै सुस्त रह्यो । केन्द्रीय समितिको आयोजनामा सम्पादन गरिएका कामहरुको सूची अत्यन्तै छोटो छ । २०६९ जेठ १३ गते हामीले इच्छुक सांस्कृतिक दिवसको आयोजना ग¥यौं । त्यसै गरी २०६९ साल चैत ५ गते महासङ्घको आयोजनामा एनेकपा (माओवादी) का वरिष्ठ केन्द्रीय सदस्य क. कृष्णबहादुर महराको प्रमुख आतिथ्यता र वरिष्ठ केन्द्रीय सदस्यद्वय अग्नि सापकोटा र आहुति को आतिथ्यतामा काभ्रे जिल्लाको अनेकोटमा सांस्कृतिक प्रतिरोध दिवस सम्पन्न गरियो ।
यो बीचमा हामीले सम्पन्न गरेको महत्वपूर्ण कार्य भनेको २०७० साल पुस २० गते आयोजना गरिएको ‘वर्तमान सांस्कृतिक आन्दोलनको दिशा’, विषयक विचार गोष्ठी नै हो । राजधानीको नेपाल बार एसोसिएसनको हलमा आयोजना गरिएको उक्त विचार गोष्ठीमा सौन्दर्यचिन्तक निनु चापागाईं, माक्र्सवादी लेखक श्याम श्रेष्ठ र कवि एवम् समालोचक अमर गिरीका तीनवटा महत्वपूर्ण कार्यपत्रहरु प्रस्तुत गरिएका थिए । ती कार्यपत्रहरु माथि साहित्यकारहरु प्रदीप ज्ञवाली, घनश्याम शर्मा, ईश्वरचन्द्र ज्ञवाली, हरिगोविन्द लुइँटेल, गोपाल ठाकुर र मणि थापाले टिप्पणी गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रस्तुत कार्यपत्र र टिप्पणीहरु हाम्रो मुखपत्र ‘नयाँ संस्कृति’ मार्फत् प्रकाशन गर्ने योजना आर्थिक कारणले सम्भव बन्न सकेको छैन । प्रकाशन गर्ने हाम्रो प्रयत्न अझै पनि जारी नै छ ।
एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको सिफारिसमा वरिष्ठ जनसंगीतकर्मी जेवि टुहुरेलाई एकीकृत नेकपा (माओवादी) ले संविधानसभाको सदस्य पदमा समानुपातिक तर्फबाट मनोनयन गरेको सन्दर्भमा २०७० साल माघ २ गते बधाई एवम् शुभकामना कार्यक्रम आयोजना ग¥यौं । यसै गरी २०७० साल चैत्र ५ गते महासङ्घकै आयोजनामा वरिष्ठ सांस्कृतिक चिन्तक निनु चापागाईंको प्रमुख आतिथ्यतामा एनेकपा (माओवादी) को केन्द्रीय कार्यालय कोटेश्वरको पेरिसडाँडामा १६ औं सांस्कृतिक प्रतिरोध दिवस सम्पन्न भयो ।
मैले माथि नै उल्लेख गरिसकेको छु कि पुनर्गठनपछिका यी दुई वर्षमा हामीले धेरै कार्यक्रमको सम्पादन गर्न सकेनौं । यी बाहेक विभिन्न राज्य समिति र जिल्ला समितिबाट आयोजना गरिएका कार्यक्रमहरुमा हामी कार्यालय सदस्यहरु मातृका पोखरेल  , बलराम तिमिल्सिना र गणेश भण्डारीले केही स्थानमा सहभागिता जनाएका थियौं ।

साथीहरु,
हामीले सांस्कृतिक आन्दोलन अत्यन्तै कमजोर रहेको भनेर धेरैतिरबाट आलोचित भएको अवस्थामा यो बैठकको आयोजना गरेका छौं । निश्चितै रुपमा यो आलोचनाको पछिल्तिर केही सत्यताहरु पनि छन् । यस अवधिमा हामीले गरेका काम र गतिविधिले पारेका प्रभाव र सीमाहरुका बारेमा समीक्षा, मूल्याङ्कन गर्ने, कमजोरीबाट पाठ सिक्ने र नयाँ कार्ययोजनाका बारेमा छलफल र निष्कर्षमा पुग्दै यो बैठकले सङ्गठनको आगामी कार्यभार तय गर्ने छ । हाम्रो देशको वर्तमान अवस्थामा हाम्रो सङ्गठन एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घले एउटा मूर्त धारणा निर्माण गर्दै अग्रगामी परिवर्तनका निम्ति भूमिका खेल्न सक्षम हुनेछ भन्ने विश्वास लिएको छु ।

क्रान्तिकारी अभिवादनसहित धन्यवाद !


मातृका पोखरेल
संयोजक
एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ
पाँचौं राष्ट्रिय सम्मेलन आयोजक समिति

No comments: